बुटवल, चैत ५
रुपन्देहीमा खाना पकाउने एलपी ग्यासको आयात नियमित रहे पनि केही व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेपछि प्रशासनले कडा कदम चालेको छ। बुटवल उपमहानगरपालिका र इलाका प्रशासन कार्यालयले ग्यास विक्रेता संघको रोहबरमा बुटवल तथा तिलोत्तमाका विभिन्न डिलरहरूमा आकस्मिक ‘छड्के’ अनुगमन गरेको हो।
अनुगमनका क्रममा केही डिलरहरूले ग्यास मौज्दात हुँदाहुँदै पनि ग्राहकलाई “छैन” भन्दै फर्काउने गरेको पाइएको छ। अनुगमनमा न्यु श्रेया किसन (७० थान), यम वि सप्लायर्स (१८९ थान,निर्वाध रूपमा ग्राहाकलाई दिदा पनि स्टक रहेको), पाण्डे ग्यास सप्लायर्स (३५ थान), श्रेया ट्रेडिङ (२५ थान), ढकाल ट्रेडर्स (१७ थान) र सगरमाथा ट्रेडिङमा ८० थान (पूर्ण र आधा) ग्यास फेला परेको छ।प्रियङ्का सप्लायर्सले भने निरन्तर रूपमा सेवाग्राहीलाई बिक्री-वितरण गरी सहज सेवा प्रवाह गरेको पाइयो।त्यस्तै दाजुभाइ सप्लायर्स, पुष्पाञ्जली इन्टरप्राइजेज, बुर्तीबाङ र विशाल विवेक सप्लायर्समा भने स्टक शून्य रहेको पाइयो।

अनुगमनमा बुटवल उपमहानगर पालिका उपप्रमुख सावित्रा अर्यालले“जनताले ग्यास नपाएको गुनासो गरेपछि हामीले स्थलगत अनुगमन गर्रेको बताउदै संकटको बेला उपभोक्तालाई सास्ती दिने जो कोहीलाई पनि छुट नदिइने बताउनुभयो।
इलाका प्रशासन कार्यालयका नासु रामप्रसाद शर्माले“अनुगमनका क्रममा कैफियत भेटिएका पसलहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताउँदै,बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने छुट कसैलाई नभएको बताउनुभयो।
उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहिका अध्यक्ष समुन्द्र जिसीले“ग्यास जस्तो अत्यावश्यक वस्तुमा व्यापारीहरूले गरेको यो खेलबाड अक्षम्य छ। उपभोक्ता ठग्नेहरूमाथि प्रशासनले कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।
ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थले“हामीले सम्पूर्ण व्यवसायीहरूलाई सहज वितरणका लागि निर्देशन दिएका छौँ। तर संघकै रोहबरमा भएको अनुगमनमा गल्ती भेटिएपछि दोषीमाथि हुने कारबाहीमा आफ्नो समर्थन रहनेछ बताउनुभयो। अनुगमन टोलीमा बुटवल उपमहानगर उपप्रमुख सावित्रा अर्याल, इलाका प्रशासनका रामप्रसाद शर्मा र श्रीनाथ पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जि.सी., ग्यास विक्रेता संघका महासचिव सूर्य खनाल ,प्रहरी,पत्रकार र व्यापार संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
टोलीले ग्यास लुकाउने व्यापारीहरूलाई स्पष्टीकरण सोध्दै आगामी दिनमा यस्तो कार्य दोहोरिए पसल सिल गर्ने र कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउने चेतावनी दिएको छ।





