भारी वर्षाले सडक बन्द, अलपत्र यात्रुहरूलाई आज दिउँसो भैरहवाबाट चार्टर्ड फ्लाइटमार्फत काठमाडौं ल्याइने

Shares

२० असोज, बुटवल — भारी वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरूलाई नेपाल वायुसेवा निगमको चार्टर्ड उडानमार्फत आज दिउँसो काठमाडौं ल्याउने तयारी गरिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, आइतबार रातिको लागि तय गरिएको उडान अन्तिम समयमा तयारी नपुगेकाले स्थगित गरिएको थियो। “हिजो विभिन्न कारणले तयारी पूरा हुन सकेन, आज दिउँसो २:४५ बजे उडान हुने पक्का छ,” तिवारीले बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेले विमान काठमाडौंबाट आज दिउँसो १ बजे भैरहवामा अवतरण गर्ने र २:४५ बजे यात्रु लिएर काठमाडौं प्रस्थान गर्ने जानकारी दिए।

प्रजिअ पाण्डेका अनुसार, टिकट काट्न काउन्टरमा प्रविधिगत समस्या देखिए पनि प्रशासनले यात्रुहरूको नाम संकलन गरी त्यसैका आधारमा उडानको व्यवस्था मिलाएको छ।

यसअघि, आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौं पठाउने योजना बनाइएको थियो। सोका लागि नेपाल वायुसेवा निगमले १५८ सिट क्षमताको ए–३२० जहाज तयारी अवस्थामा राखेको थियो र नागरिक उड्डयन प्राधिकरणबाट साँझ ७:१५ देखि ९:४५ बजेसम्मको उडान अनुमति पनि लिइएको थियो।

नेपाल वायुसेवा निगमले चार्टर्ड उडानका लागि काठमाडौं–भैरहवा रु ५,००० र भैरहवा–काठमाडौं रु ७,००० भाडा निर्धारण गरेको जनाएको छ।

प्रजिअ पाण्डेले विशेष प्राथमिकता उपचारका लागि गइरहेका बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जानुपर्ने यात्री, पहिले नै टिकट काटिसकेका यात्रु र पर्यटकलाई दिइने जानकारी दिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.