१५ मंसिर, काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा शनिबार मध्यान्ह उनको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेहबाट पीडित थिए भने पछिल्लो केही दिनदेखि मुत्राशय (पिसाब) संक्रमणसम्बन्धी समस्याले स्वास्थ्य अवस्था जटिल बनेको अस्पतालले जनाएको छ।
अन्त्येष्टि समयमा मेयर बालेन निकै भावविह्वल देखिएका थिए।
अस्पतालका चिकित्सकले रामनारायण शाहलाई दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए। त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर परिवारजनसँग भेट गरेकी थिइन्।
बालेनलाई पितृशोक परेको खबर सार्वजनिक भएपछि मन्त्रीहरू, विभिन्न दलका नेता तथा उनका समर्थकहरू अस्पताल र आर्यघाट पुगेका थिए। ऊर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ पनि आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।
यसबाहेक नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि आर्यघाटमा पुगेर दिवंगतप्रति सम्मान प्रकट गरेका थिए।






