बुटवल, ५ फागुन ।
निर्वाचनको माहौल तात्दै गएका बेला सरकारी विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्म दलीय प्रचारमा सक्रिय भएर लागेका छन् । यसरी खुलेयाम दलको प्रचारमा सक्रिय भएर लाग्नेहरु रुपन्देहीकै नमूना स्कुलमा गनिने प्रधानाध्यापक र शिक्षकहरु छन् ।
शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछा, कान्ति माध्यमिक विद्यालयका शिक्षक दिलिप बेलबासे र कालिका माविका शिक्षक श्याम श्रेष्ठने राजनीतिक दल र पितनका उम्मेदवारको प्रचारमा सक्रिय भएर लागेका हुन् । प्रधानाध्यापक लामिछाने रुपन्देही क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलको प्रचार अभियानमा सहभागी भएका छन् भने शिक्षकद्वय बेलबासे र श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार अभियानमा सक्रिय देखिएका हुन् ।
स्थानीयका अनुसार लामिछाने चुनावी घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय देखिएका छन् । त्यस्तै शिक्षकद्वय बेलबासे र श्रेष्ठले सामाजिक सञ्जाल तथा रास्वपाका कार्यक्रमहरुमार्फत चुनाव प्रचार गरिरहेका छन् । सरकारी विद्यालयका प्रमुख प्रशासककै रूपमा कार्यरत व्यक्ति खुलेआम कुनै दलको प्रचारमा लाग्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रश्न उठेको छ ।
निर्वाचन आचारसंहिताले सरकारी सेवामा कार्यरत कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । यस्तो अवस्थामा प्रधानाध्यापकको सक्रियता कानुनी र नैतिक दुवै दृष्टिले विवादित बनेको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै प्रधानाध्यापक लामिछानेले आफूले व्यक्तिगत हैसियतमा सामाजिक सञ्जालमा धारणा राखेको दाबी गरे । “म कुनै आधिकारिक हैसियतमा प्रचारमा लागेको होइन, बाटोमा हिंड्दा व्यक्तिगत रूपमा साथीभाइसँग भेटघाट भएको हो,” उनले भने, “विद्यालयको काममा कुनै असर नपर्ने गरी व्यक्तिगत विचार राख्नु मेरो अधिकार हो ।”

शिक्षक दिलीप बेलबासेले दलको प्रचारात्मक सामग्री सामाजिक सञ्जालबाट शेयर गर्नु गल्ती भएको स्वीकारे । “मैले बालेन आउँदाको भिडियो हालेको हुँ, दलको प्रचार गर्ने नियतले होइन, अवदेखि यस्तो गर्दिन”–उनले भने ।
त्यस्तै कालिकाका शिक्षक श्याम श्रेष्ठले पनि आफूले दलको प्रचारमा लाग्नु गल्ती भएको स्वीकारे । सरकारी शिक्षक भएर किन दलको प्रचारमा लाग्नु भो भन्ने प्रश्नमा उनले भने–“ठिक छ, अवदेखि लाग्दिन, शेयर गरेका सामग्री हटाउँछु ।”
्
यता निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अयालले भने सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने बताइन् । “निर्वाचन आचारसंहितामा सरकारी सेवामा रहेका व्यक्तिले दलगत प्रचारप्रसारमा संलग्न हुन नपाइने स्पष्ट उल्लेख छ,” उनले भनिन्, “यदि उजुरी परेमा वा प्रमाण प्राप्त भएमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइन्छ ।”
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै पनि सरकारी कर्मचारी वा शिक्षक कुनै उम्मेदवार वा दलको प्रचारप्रसारमा लाग्नु आचारसंहिता विपरित हुने बताए । “सरकारी शिक्षक र कर्मचारी किन प्रचारमा लाग्नु पर्यो, यो आचारसंहिता विपरित हुन्छ, यसो गर्न मिल्दैन”–उनले भने ।
चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा सरकारी निकायसँग सम्बन्धित व्यक्तिको भूमिकाबारे थप निगरानी आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ । निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ को १० नम्बर बुँदाको खण्ड क मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सो मा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ ।






