२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरवारस्थित उनको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ । बैठक संसद् विघटनबारे दलहरूको धारणा संकलनका उद्देश्यले आयोजना गरिएको हो ।
सभामुख घिमिरेले संसद् पुनःस्थापनाको मागसहित अदालतमा जानु उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा राजनीतिक दलहरूको राय लिँदैछन् ।
विघटित प्रतिनिधि सभामा रहेका दलहरू — नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — सभामुखद्वारा बोलाइएको छलफलमा सहभागी हुन आह्वान गरिएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका प्रतिनिधिलाई पनि सहभागी गराइएको छ । तर, रास्वपा भने सभामुखले बोलाएको यस छलफलमा अनुपस्थित रहेको छ ।
सभामुख घिमिरेले दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीहरूसँग पनि छुट्टाछुट्टै परामर्श गर्ने तयारी गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा जाने कि नजाने भन्ने विषयमा सभामुखले सरोकारवालाहरूबाट दुई खाले सुझाव प्राप्त गरिसकेका छन् । अब विभिन्न दलहरू, कानुनी विज्ञ र बार संघका पदाधिकारीहरूको राय संकलन गरेर अन्तिम निर्णय गर्ने तयारी सभामुखको रहेको छ ।






