२२ असोज, पर्वत – पर्वत जिल्लाको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडकको काम समयमा सम्पन्न नगरेपछि ठेकेदार कम्पनीको जमानत जफत गरिएको छ।
सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी, बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्कीबापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरेको हो।
कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार, बारम्बार म्याद थप्दा पनि ठेकेदारले पाँच वर्षसम्म काम नसकाएकोले जमानत जफत गर्नुपरेको हो।
विसं २०७८ जेठ १८ गते सम्झौता भएको यो सडक आयोजना १८ महिनाभित्र, अर्थात् २०७९ फागुन १७ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर ठेकेदारले सडक ग्राभेल गर्नुबाहेक अन्य काम नगरेको कार्यालयले जनाएको छ।
पछिल्लोपटक म्याद थप गरेर २०८१ चैत २९ गतेसम्मको समय दिइए पनि ठेकेदार कम्पनी काममा नफर्किएपछि बाध्य भएर बैंक जमानत जफत गरिएको हो।
करीब ११ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको झण्डै ६ किलोमिटर लामो सडक आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ३५ प्रतिशत मात्रै रहेको छ।
निर्माण सुरु गरेपछि ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि सडक झन् अस्तव्यस्त अवस्थामा पुगेको छ।






