सुकुम्बासी व्यवस्थापनमा कमजोरी भए सुधार्छौं : गृहमन्त्री गुरुङ

Shares

काठमाडौं, २२ असार — गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी व्यवस्थापनका क्रममा कुनै कमजोरी भएको भए त्यसलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकारले सुकुम्बासी व्यवस्थापनलाई गम्भीरतापूर्वक लिएको र देखिएका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताएका हुन्।

छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले गृहमन्त्रीले विगतमा महिलाप्रति आफू संवेदनशील रहेको र गृहमन्त्रालयलाई महिलाको “माइती” का रूपमा व्याख्या गरेको प्रसंग स्मरण गराइन्। उनले सुकुम्बासी बस्ती हटाइएपछि समस्यामा परेका महिलाका लागि गृहमन्त्रालयको ढोका अझै खुला छ कि छैन भन्ने प्रश्न उठाइन्।

जवाफमा गृहमन्त्री गुरुङले गृहमन्त्रालय सबै नागरिक, विशेषगरी महिलाका लागि सधैं खुला रहेको बताए। “मेरो विचारमा गृहमन्त्रालय अहिले पनि महिलाको माइती नै हो। पहिलेजस्तो नागरिकका लागि ढोका बन्द हुने अवस्था अहिले छैन। हरेक महिलाको आवाज सुन्ने प्रयास गरेका छौं र हामी आफैं पनि फिल्डमा पुगेर काम गरिरहेका छौं,” उनले भने।

महिलासँग सम्बन्धित कुनै पनि विषयमा मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै उनले सुकुम्बासी महिलामात्र नभई सबै महिलाका लागि गृहमन्त्रालयको ढोका खुला रहेको स्पष्ट पारे।

सुकुम्बासी व्यवस्थापनबारे बोल्दै गृहमन्त्री गुरुङले सरकारले यो विषयलाई गम्भीर रूपमा लिएको दोहोर्याउँदै भने, “कुनै कमीकमजोरी वा छुटपुट समस्या देखिएको छ भने त्यसलाई सुधार गर्दै अगाडि बढ्छौं।”

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.