भदौ १, काठमाडौं / अब सुनचाँदीको व्यवसाय गर्ने उद्योगले एक पटकमा पाँच लाख डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एकिकृत परिपत्र संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन सम्बन्धीत सुनचाँदी व्यवसाय गर्ने उद्योगलाई कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक पाँच लाख डलर सटही सुविधा दिने व्यवस्था गरिएको हो । यसअघि यसमा तीन लाख डलरको सिमा थियो । अहिले त्यसमा दुई लाख डलर सिमा बढाएर पाँच लाख पुर्याइएको हो । सुनचाँदी व्यवसायीलाई भने एक लाख डलर कै सिमा यथावत राखिएको छ ।
‘सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ,’ संशोधित एकीकृत परिपत्रमा भनिएको छ ।






