बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज (होराइजन गौतमबुद्ध मावि) मा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले भव्य स्वागत गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यतामा कलेज परिसरमा एक भव्य समारोह आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारीले पछिल्लो समयको शिक्षालाई व्यवहारिक बनाउँदै स्वदेशमै रहने उच्च तहका जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्नुभयो।

कार्यक्रम बोल्दै विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले होराइजन गाैतमबुद्ध विगतदेखि नै समग्र क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्दै आएको हुँदा यसको निरन्तरताको लागि विद्यार्थीहरू पनि सक्रिय हुन अनुरोध गर्नुभयो।
विद्यार्थी प्रिया गुप्ता बानियाको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
स्वागत समारोहमा राष्ट्रिय लोक गायक खुमन अधिकारी ले विद्यार्थीहरूलाई मनोरञ्जन दिलाएका थिए। अधिकारीले कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वदेशमा बसेर काम गर्न आग्रह गर्दै देशप्रेमको सन्देशसहितका गीतहरु प्रस्तुत गरे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्ययले होराइजन नेपालमा मात्र नभइ विश्वमै परिचित गराउन पाएकोमा खुसी व्यक्त गरे।

अतिथिका रूपमा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसजु, र ,विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, विद्यालयका शैक्षिक निर्देशक लक्ष्मण गौतम, निर्मल प्रसाद लाकौल, क्षितिज इन्टरनेश्नल कलेजका उपप्रचार्य राजेन्द्र लम्साल, उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, डा. नारायण प्रसाद पन्थ, डा. तारानाथ भट्टराई, प्रदिप अर्याल, डा. मुरारि पराजुली, रूद्ध भुसाल लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा शैक्षिक पुरस्कार समेत वितरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय झरना खनाल र समृध्दि पाण्डेले गरेका थिए ।कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए।






