होराइजन गौतम बुद्ध मा.वि.मा खाना महोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।

Shares

तिलोत्तमा पौष २९ 

होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १ ड्राइभरटोल रुपन्देहीले ३२ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न सांस्कृतिक कार्यक्रम तथा पुरस्कार–सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । विद्यालयले सप्ताहव्यापी रुपमा सञ्चालन गरेको खेलकुद कार्यक्रम र वर्षभरि विद्यालयभित्र तथा बाहिर भएका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सहभागी भई प्रथम, द्वितीय एवम् तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार सम्मान, अर्पण गरिएको हो ।

होराइजन गौतम बुद्ध मा.वि.सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू श्रैष्ठको सभाध्यक्षता रहेको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख विष्णुप्रसाद पन्थी प्रमुख आतिथ्य रहेको थियो । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका अधिकृत झबिलाल वि.क. विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।

कार्यक्रममा क्षितिज इन्टरनेशनल कलेज एवम् बुटवल मोडेल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, न्यू होराइजन कलेजका अध्यक्ष निर्मल प्रसाद लाकौल, बुटवल मोडेल कलेजका प्राचार्य डा. नेत्रप्रसाद बस्याल, न्यू होराइजन मातृ संस्थाका उपप्राचार्य द्वय वासुदेव अर्याल, राजिव श्रेष्ठ, होराइजन सञ्चालक समितिका सदस्य अमुल श्रेष्ठ, महेन्द्र आमात्य लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्राचार्य , उपप्राचार्य, शिक्षक,  प्राध्यापक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन डा. मुरारि पराजुलीले गर्नुभएको थियो भने आज भएको सम्पूर्ण पुरस्कार वितरणको कार्यक्रम उपप्राचार्य श्री इन्द्र भुसालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख विष्णुप्रसाद पन्थीले समग्र होराइजन संस्था नेपाली शिक्षाको विकासमा गुणात्मक तथा विस्तारका रुपमा लागेको छ । होराइजनले एउटा ब्रान्ड कायम गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा संस्थागत विद्यालयहरूको नेतृत्वदायी भुमिका निर्वाह गरेको छ ।  संस्थालाई लोकप्रिय बनाउनमा कुशल व्यवस्थापक, अनुभवी र उच्च दक्षता हासिल शिक्षक, लगनशील विद्यार्थी, सचेत अभिभावक एवम् कमर्ठ कर्मचारीहरूको यथेष्ट प्रयासले सम्भव भएको बताउँदै उहाँले आगामी दिनमा संस्थाले अझ उन्नति र प्रगति गर्दै अगाडि बढोस् भनी शुभकामना समेत दिनुभयो ।

विद्यलयद्वारा खाना महोत्सवकोसमेत आयोजना गरिएको थियो ।  होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरूलाई पाक कला, बिक्री वितरण कला, आतिथ्य सत्कार, व्यावसायिक सरसफाइजस्ता विषयमा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न सात ओटा स्टलहरू राखिएको थियो भने विभिन्न सात ओटा समूहले महोत्सवमा  प्रतिस्पर्धा गरेको कुरा होटल व्यवस्थापनका शिक्षक एवम खाना महोत्सवका संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

खाना महोत्सवमा कक्षा १२ सेक्सन बि बिहानीका सन्ध्या ज्ञवालीको समूहले प्रथम स्थान प्राप्त गरेको थियो उक्त समूहले बटुक र चिकन छोइला तयार गरी बिक्री वितरण गरेको थियो । कक्षा १२ सेक्सन ए दिवातर्फका मन्दीप बस्नेतको समूहले द्वितीय स्थान हासिल गरेको थियो । उनीहरूले चिकन सेकुवा, बफ सेकुवा, पोर्क सेकुवा जस्ता परिकार बनाएका थिए । यसै गरी कक्षा ११ ए बिहानी समूहका आयका थापाको समूहले तृतीय स्थान प्राप्त गरेको थियो । उनीहरूले आफ्ना परिकारमा सेलरोटी, आलु दम, बिरम्ला र नेपाली चटनी बनाएका थिए । खाना महोत्सवमा प्रथम हुने समूहलाई रु.५०००।– द्वितीय हुने समूहलाई रु.४०००।– र तृतीय हुने समूहलाई रु. ३०००।– नगद पुरस्कार प्रदान गरिएको थियो ।

आजै भएको नृत्य प्रतियोगितामा प्रितिश ढकाल (कक्षा ११ ई बिहानी समूह) ले प्रथम स्थान, संघमित्रको समूहले द्वितीय स्थान, ऋदम भुसाल(११ बि, बिहानी) समूहले तृतीय स्थान प्राप्त गरेका थिए । नृत्य प्रतियोगितामा प्रथम हुने समूहले रु.१०,०००।–, द्वितीय हुने समूहले रु७०००।– र तृतीय हुने समूहले रु.४०००।– नगद पुरस्कार प्राप्त गरेका थिए ।

भोलि ३० गते बुधबार मूल समारोहको कार्यक्रम हुने विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रममा स्थानीय संघसंस्था, क्लबहरु, अभिभावकहरुसहित सम्पूर्ण विद्यालय परिवारलाई आमन्त्रण गरिएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.