१३ भदौ, काठमाडौं — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई मात्रै दिन नहुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अस्थिरताको मुख्य कारण राजनीतिक दलहरूको व्यवहार र आपसी सहयोगको अभाव भएको बताए।
“निर्वाचन प्रणाली जस्तोसुकै भए पनि यदि दलहरू मिलेर काम गर्छन् भने स्थिरता सम्भव छ,” मन्त्री गुरुङले भने, “पहिला प्रणाली होइन, दलहरूको कार्यशैली सुधार आवश्यक छ।”
उनले संविधान संशोधन गर्दै पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने धारणा पनि व्यक्त गरे। यस्तो प्रणालीले निर्वाचनमा हुने अत्यधिक खर्च नियन्त्रणमा ल्याउने विश्वास उनले व्यक्त गरे।
त्यसैगरी, मन्त्री गुरुङले आदिवासी जनजातिले संविधानबाट प्राप्त गरेका अधिकार कार्यान्वयनमा सरोकारवाला निकायहरू अझ गम्भीर बन्नुपर्ने आवश्यकता रहेको पनि बताए।






