एसिया कप छनोट : नेपाल–भियतनाम भिडन्त, २२ वर्षपछि जितको आशा

Shares

२३ असोज, काठमाडौं — एसिया कप छनोटको तेस्रो चरणमा नेपाली राष्ट्रिय फुटबल टिम बुधबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। हो चि मिन्ह सहरको गो डाउ रंगशालामा हुने खेल समूह ‘एफ’ अन्तर्गत हुनेछ।

नेपाल दुई खेलका लागि हाल दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा छ। यस खेललाई भियतनामको ‘होम म्याच’का रूपमा लिइएको छ। खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका अस्ट्रेलियाली मुख्य प्रशिक्षक म्याट रसले लाओससँगको पछिल्लो हार ‘अत्यन्त निराशाजनक’ भएको बताए।

उनले भने, “हामी भियतनामसँगको खेलमा उत्साहित छौं। हाम्रो लक्ष्य स्पष्ट छ — या त तीन अंक, होइन भने एक अंक लिएर फर्किने।” रसले भियतनाम निकै बलियो टिम भएको स्वीकार गरे पनि नेपाली टिमले राम्रो प्रदर्शन गर्दै आश्चर्यजनक नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

“यस प्रतियोगितामा खेल्नु कुनै पनि खेलाडीको सपना हो। अहिले पनि एसिया कपमा छनोट हुने सम्भावना बाँकी नै छ, त्यसका लागि भने उच्चस्तरीय प्रदर्शन आवश्यक छ,” उनले थपे।

नेपाली कप्तान किरण चेम्जोङ लिम्बूले पनि टिम सकारात्मक मानसिकतामा रहेको बताए। “हामी सबै खेलका लागि तयार छौं। भियतनाम बलियो टिम हो, विशेषगरी उनको आक्रमण धारिलो हुन्छ। तर हामी पनि राम्रो प्रदर्शन गर्न प्रतिबद्ध छौं,” किरणले भने।

युवा टिमसहितको भियतनामको तयारी

भियतनामका दक्षिण कोरियाली प्रशिक्षक किम साङ-सिकले नेपालविरुद्ध २३ सदस्यीय युवा टिम घोषणा गरेका छन्, जुन इतिहासमै सबैभन्दा युवा टिम मानिएको छ। टिममा सात जना यस्ता खेलाडी छन्, जसले हालै यु–२३ टिमबाट खेलेका थिए र उनीहरूका लागि यो पहिलो सीनियर टिमको अनुभव हुनेछ।

प्रशिक्षक साङ-सिकले अनुभव र युवाको संयोजनमार्फत सन्तुलित टिम बनाउने योजना बनाएका छन्। समूह ‘एफ’ मा मलेसिया दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। भियतनाम र लाओस दुवैसँग ३–३ अंक छन् भने नेपाल अंकविहीन रहेको छ। समूहकै अर्को खेलमा लाओस र मलेसिया भिड्नेछन्।

एसिया कपमा जितको २२ वर्षे पर्खाइ

एसिया कप छनोटमा नेपालको प्रदर्शन ऐतिहासिक रूपमा कमजोर रहँदै आएको छ। जित र गोलको संख्या दुवै न्यून छ। नेपालले एसिया कप छनोटको ४१ वर्षे इतिहासमा जम्मा दुई खेलमात्र जितेको छ — तीमध्ये पछिल्लो जित सन् २००३ मा अफगानिस्तानविरुद्ध थियो।

२००३ यताका छनोट खेलमा नेपालले एकपटक पनि जित हात पार्न सकेको छैन। यसर्थ, भियतनामविरुद्धको खेल नेपालका लागि मात्र अंक जोड्ने अवसर होइन, २२ वर्षको जितको पर्खाइ तोड्ने ऐतिहासिक अवसर पनि बन्न सक्छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.