गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीको चौधौं वार्षिक साधारणसभा सम्पन्न

Shares

२७ पुस, बुटवल ।
गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड, बुटवलको चौधौं वार्षिक साधारणसभा आइतबार बुटवलस्थित होटल मेरिगोल्डमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि संविधान सभा सदस्य नेत्रप्रसाद पन्थीले सहकारीमार्फत आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन गौतमबुद्ध स्वास्थ्य सेवा सहकारी प्रभावकारी माध्यम बनेको बताए । उनले स्वास्थ्य सेवा राज्यको मात्र दायित्व नभई सहकारीजस्ता सामूहिक प्रयासबाट अझ सशक्त रूपमा अघि बढ्न सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले सहकारी मोडेलमार्फत स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ संस्था स्थापना गरिएको उल्लेख गर्दै आज त्यसले ठोस उपलब्धि हासिल गरेको बताए । उनले आगामी दिनमा पनि सहकारीलाई जनमुखी स्वास्थ्य सेवाको भरोसायोग्य विकल्पका रूपमा विकसित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष डा. रोहितराज क्षेत्रीले प्रस्तुत गरेका थिए। प्रतिवेदन प्रस्तुत गर्दै उनले विगतमा नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारी आर्थिक विकासको प्रमुख मेरुदण्डका रूपमा स्थापित भए पनि पछिल्लो समय नीतिगत परिवर्तनका कारण केही चुनौती देखा परेको बताए । यद्यपि, ती चुनौतीबीच पनि गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीले यस क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान दिइरहेको र आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।
गौतमबुद्ध स्वास्थ्य सेवा सहकारीको लगानीमा सञ्चालनमा रहेको देवदह मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोख्रेलले मेडिकल कलेजलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित तत्कालीन, मध्यमकालीन र दीर्घकालीन योजना कार्यान्वयनमा रहेको जानकारी दिए। यति ठूलो स्वास्थ्य सहकारीसँग विगतदेखि सहकार्य गर्दै अघि बढ्न पाउनु गौरवको विषय भएको उनले बताए ।
साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन भुपाल कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक भवानी प्रसाद सुवेदीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरूमा सहभागी सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए ।
संस्थाको चौधौं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष डा. रोहितराज क्षेत्रीको अध्यक्षता, संविधान सभा सदस्य नेत्रप्रसाद पन्थीको प्रमुख आतिथ्यता, उपाध्यक्ष टंक पराजुलीको स्वागत मन्तव्य तथा सचिव युवराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.