काठमाडौं, १४ साउन / दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी (पासपोर्ट) बनाउन आउनेको उल्लेख्य भीड देखिएको छ। विभाग परिसरमा विशेषगरी युवा–युवतीहरूको लामो लाइन लागेको छ।
सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले बिहीबारदेखि विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालनमा ल्याएको छ। विभागका अनुसार यो व्यवस्था २२ साउनसम्म लागू रहनेछ।
पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सेवा प्रदान गरिनेछ।
विभागले शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन पनि राहदानी सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ। ती दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध हुनेछ।
विभागका अनुसार पछिल्लो एक सातादेखि ईपीएसमार्फत दक्षिण कोरिया जान आवेदन दिनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। ईपीएस आवेदनका लागि राहदानी अनिवार्य हुने भएकाले राहदानी बनाउने सेवाग्राहीको चाप पनि बढेको हो।
सेवाग्राहीलाई समयमै र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय थप्दै दुई सिफ्टमा सेवा सञ्चालन गरिएको विभागले जनाएको छ।




