रेडक्रसले विश्वभर हालसम्म १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको तथ्यांक सार्वजनिक गरेको छ, जुन पाँच वर्षअघि भन्दा करिब ७० प्रतिशतले बढी हो। अन्तर्राष्ट्रिय रेडक्रस समितिका अनुसार बढ्दो द्वन्द्व, आप्रवासन र युद्धका नियमको पालना नहुनु नै यसको मुख्य कारण हो।
सुडान, युक्रेन, सिरिया, कोलम्बिया र इजरायलजस्ता देशहरूमा बेपत्ता हुने घटनाको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ। समितिका महानिर्देशक पियरे क्राहेनबुहलले एएफपीलाई दिएको प्रतिक्रियामा लाखौं मानिस आफ्ना परिवार र प्रियजनसँग अलग्गिन बाध्य भएको बताए।
रेडक्रसले राजनीतिक दल र पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गरे मात्र बेपत्ता हुने जोखिम कम हुनेमा जोड दिएको छ।
समितिका अनुसार गत वर्ष मात्र १६ हजारभन्दा बढी व्यक्तिहरू फेला परे भने सात हजारभन्दा बढीलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइएको थियो। आजको दिनलाई विश्वभर ‘बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का रूपमा मनाइँदैछ।






