समकालीन नेपाल, अबको गन्तव्य विषयक दर्शन पाठशाला–१ बुटवलमा सम्पन्न

Shares

 

बुटवल, मंसिर ६ । प्रगतिशील लेखक सङ्घ नेपाल रूपन्देहीद्वारा प्रारम्भ गरिएको ‘दर्शन पाठशाला’ कार्यक्रमको पहिलो श्रृङ्खला ‘समकालीन नेपाल, अबको गन्तव्य’ शीर्षकमा शनिबार बिहान बुटवलको चाँदबारीस्थित राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश कार्यालयमा सम्पन्न भयो । विचार, बहस र नीति–संवादलाई संस्थागत गर्दै समाजलाई बौद्धिक उचाइमा पुर्‍याउने लक्ष्यसहित सुरू गरिएको यो कार्यक्रम साहित्यकार, पत्रकार, शिक्षाविद्, कानुनविद्, संस्कृतिविद् तथा बौद्धिक समुदायको उपस्थितिमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले समकालीन नेपाली राजनीतिका मूल समस्या र समाधानका सम्भावित दिशाहरूको विस्तृत विश्लेषण प्रस्तुत गरे । वि सं. ०६२/०६३ को ऐतिहासिक राजनीतिक परिवर्तनले देशलाई नयाँ बाटोमा लगे पनि त्यस परिवर्तनको सही कार्यान्वयन नहुँदा आजको जटिल अवस्था उत्पन्न भएको कंडेलले बताए । उनका अनुसार राजतन्त्र हटे पनि गणतन्त्रको संस्थागत रूपरेखा लागू हुन सकेन, सहभागीमूलक शासन निर्माण हुन सकेन र लुटतन्त्र झन् मजबुत हुँदै गइरहेको छ । संविधान राजनीतिक सहमतिबाट बनेको मौलिक दस्तावेज भए पनि यसको सहि कार्यान्वयनमा राज्य संयन्त्र र राजनीतिक दल असफल भएको उनको भनाइ थियो ।

कंडेलले अहिलेको सरकारलाई असंवैधानिक भन्दै लोकतान्त्रिक प्रक्रियाप्रति नै प्रश्न खडा गरेको उल्लेख गर्दै संसद विघटनको असंवैधानिक सिफारिसले मुलुकलाई थप अनिश्चिततामा धकेलेको बताए । उनले जेनजी आन्दोलनलाई दशकौँदेखि सञ्चित असन्तोष, बेरोजगारी, अवसर अभाव र राजनीतिक असफलताप्रति युवाहरूको गहिरो प्रतिक्रिया भएको व्याख्या गर्दै समाजवादी लक्ष पूरा नहुँदा वर्तमान परिस्थिति जन्मिएको विश्लेषण गरे । मार्क्सवादी दार्शनिक दिशा अहिले पनि प्रासंगिक रहेको भन्दै कंडेलले यसलाई समयानुकूल पुनर्व्याख्या र पुनःप्रयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार वर्तमान निकास “चुनावी प्रक्रियाबाटै खोजिनुपर्छ”, दलहरूले जनभावना र परिणामअनुकूल दिशानिर्धारण गर्नुपर्छ ।

कार्यक्रमकी वक्ता आकाङ्क्षा भण्डारीले राजनीतिक दलहरू जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न नसक्नु नै अहिलेको प्रमुख चुनौती भएको बताइन् । संविधान सर्वोच्च भन्ने मान्यता भए पनि अन्ततः जनता संविधानभन्दा पनि माथि हुने बताउँदै नेतृत्वले जनताको वास्तविक चाहना बुझ्न, सुन्न र सम्बोधन गर्न सक्नुपर्छ भन्ने उनको तर्क थियो । उनले शिक्षण संस्थाले समस्या देखाउने तर समाधान सिकाउन नसक्ने प्रवृत्तिले युवा पुस्तामा निराशा बढाएको उल्लेख गर्दै बुद्धिजीवी वर्गले यस्तै समाधानमुखी कार्यक्रम, बहस र वैकल्पिक सोच निर्माणमा अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिइन् । उनका अनुसार सत्ता र नागरिकबीच बढ्दै गएको दूरी तत्काल कम गरिनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष डा. मुरारि पराजुलीले विचार, साहित्य र समाज रूपान्तरणबीचको सम्बन्धबारे टिप्पणी गर्दै दर्शन पाठशाला श्रृङ्खलाले बौद्धिक बहसलाई सबल बनाउने विश्वास व्यक्त गरे । प्रगतिशील लेखक सङ्घ रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेको अध्यक्षता र कार्यक्रम संयोजक माधव कुमार पौडेलले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ समालोचक ऋषिराम भुसाल, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, संस्कृविद् राजेन्द्रकुमार आचार्य, शान्ताराम गिरी, डा. अजित खनाल, सिता काफ्ले, मुकुन्द पोखरेल, छवि पाठक, गणेश घिमिरे, माधव गौतम, नारायण प्रसाद भण्डारी, रूद्रलाल उपाध्याय, हिरालाल धामी, यज्ञलाल सुवेदी, सरु ज्ञवाली, दुर्गा थापा मगर, विन्दु सुवेदी, सिद्धार्थ भुसाल, आदर्श भण्डारी लगायतका साहित्यकार, समालोचक, पत्रकार र सिर्जनशील व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रम प्रभावकारी रहेको बताउँदै निरन्तरताको अपेक्षा राखेका थिए ।

बौद्धिक, संवादपूर्ण तथा सहभागीता–समृद्ध कार्यक्रममा प्रस्तुति, टिप्पणी, प्रश्न–उत्तर र खुला बहसपछि सफलतापूर्वक सम्पन्न भएको हो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.