काठमाडौं, १४ साउन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्सना बानुले सुनसरीमा भएको घटनाका क्रममा पटक–पटक गोली चलाउन कसले र कुन निकायबाट आदेश दिएको हो भन्ने विषयमा सरकारसँग जवाफ मागेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बानुले आफू केवल सांसदका रूपमा मात्र नभई देशको सामाजिक सद्भाव र भविष्यप्रति चिन्तित नागरिकका रूपमा पनि यो विषय उठाएको बताइन्।
उनले हालै सुनसरीलगायतका क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद र झडपले सबै नेपालीलाई दुःखी बनाएको उल्लेख गरिन्। आफ्ना मतदाताले धर्म वा समुदायका आधारमा नभई नेपालको भविष्य, विकास र सामाजिक एकताप्रतिको विश्वासका आधारमा आफूलाई निर्वाचित गरेर संसदमा पठाएको उनको भनाइ थियो।
यसक्रममा उनले सरकारलाई प्रश्न गर्दै भनिन्, “सुनसरीमा बारम्बार गोली चलाउने आदेश कसले र कुन प्रशासनबाट दिएको हो ?”
उनले बल प्रयोगले शान्ति स्थापना नहुने तर्क गर्दै संवाद, सहमति र अन्य शान्तिपूर्ण उपायमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन्। गोली प्रहारले परिस्थिति थप जटिल बन्न सक्ने उनको भनाइ थियो।
भाषणको अन्त्यमा उनले राष्ट्रिय एकताको सन्देश दिँदै भनिन्, “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली।”




