अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा बसिरहेका करिब साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको पुनः समीक्षा गर्ने तयारी गरेको छ। समाचार संस्था एपीका अनुसार, नियम उल्लङ्घन गर्ने भेटिएमा तत्काल भिसा रद्द गरी उनीहरूलाई देश निकाला गरिनेछ।
अमेरिकी विदेश मन्त्रालयले सबै प्रकारका भिसा धारकलाई निरन्तर अनुगमन गर्ने प्रणाली लागू गरेको जनाएको छ। तोकिएको समयभन्दा बढी बस्ने, कानूनी प्रावधान तोड्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा आतङ्कवादी गतिविधिमा संलग्न हुनेहरूलाई तुरुन्त कारबाही गर्ने नीति ल्याइएको छ।
विद्यार्थी भिसा सबैभन्दा धेरै रद्द भएको मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। पछिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा रद्द हुने दर चार गुणाले बढेको छ। विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो उपस्थिति अमेरिकी रोजगारीमा प्रत्यक्ष असर परेको टिप्पणी गरेका छन्।
विदेश मन्त्रालयका अनुसार भिसा लिनेहरूका सामाजिक सञ्जाल गतिविधि, गृहदेशका आप्रवासन तथा कानूनी अभिलेख, साथै अमेरिकामा भएको गतिविधिसमेत परीक्षण गरिनेछ। ट्रम्प पुनः राष्ट्रपति बनेदेखि अहिलेसम्म छ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको बताइन्छ। तीमध्ये झन्डै चार हजार कानूनी उल्लङ्घनका कारण र करिब तीन सय आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा खारेज गरिएको जनाइएको छ।






