४ भदौ, काठमाडौँ– भारत र चीनले सीमा विवाद समाधान गर्न एक विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन्। यो समितिले दुवै देशबीच लामो समयदेखि जारी विवादलाई चाँडै समाधान गर्ने उपाय खोज्नेछ।
चिनियाँ परराष्ट्र मन्त्री वाङ यी मंगलबार दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट हुँदा यस्तो सहमति भएको हो। वाङ यी २ दिने भारत भ्रमणका क्रममा सोमबार भारतीय परराष्ट्र मन्त्री एस. जयशंकरसँग पनि भेट गरेका थिए।
भ्रमणका क्रममा चीनले भारतलाई मल, रेयर अर्थ म्याटेरियल र टनेल बोरिङ मेसिन आपूर्ति गर्ने आश्वासन दिएको छ। चीनले गत जुलाईमा यी सामग्री निर्यातमा रोक लगाएको थियो। वाङ यीका अनुसार, वैश्विक परिस्थिति तीव्र गतिमा बदलिरहेको र यस्तो अवस्थामा भारत–चीन जस्ता ठूला विकासशील मुलुकबीच सहकार्य आवश्यक छ।
प्रधानमन्त्री मोदीले वाङ यीसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारत–चीन सम्बन्धमा निरन्तर प्रगति भइरहेको बताएका छन्। उनले आगामी शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा चीन भ्रमण गर्ने तयारी रहेको पनि उल्लेख गरेका छन्।
एससीओ बैठक अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म तियानजिनमा हुने छ, जहाँ २० भन्दा बढी मुलुकका प्रतिनिधिहरू सहभागी हुनेछन्। यो बैठक मोदीको चीन भ्रमणका कारण अझै महत्वपूर्ण हुने विश्लेषण गरिएको छ।
स्मरणीय छ, सन् २०२० मा पूर्वी लद्दाखको गलवानमा भएको हिंसात्मक झडपपछि भारत–चीनबीच सीमा विवाद समाधानका लागि छलफल सुरु भएको थियो। त्यसयता विभिन्न तहमा वार्ता भए पनि विवाद अझै पूर्णरूपमा समाधान हुन सकेको छैन।






