२ भदौ, बुटवल- नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो प्रदर्शनी २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।
बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने यस भव्य प्रदर्शनीमा देशभरका सवारीसाधन व्यवसायी तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।कार्यक्रमलाई सफल बनाउन नाडा अटोमोबाइल्स संघ नेपालले सबै प्रदेशीय संघहरूलाई प्रचार–प्रसारमा सक्रिय भूमिका खेल्न आह्वान गरेको छ।
सोअनुरूप लुम्बिनी अटोमोबाइल्स संघले पनि यस प्रदर्शनीमा आफ्नो सहकार्य र सहभागिता सुनिश्चित गरेको छ।
संघका अध्यक्ष गणेशप्रसाद भट्टराईको नेतृत्वमा लुम्बिनी संघले आफ्ना सदस्य व्यवसायी तथा प्रतिनिधिहरूमार्फत प्रदर्शनी अवलोकन गर्ने व्यवस्था मिलाएको छ। साथै, आवद्ध सदस्यलाई निःशुल्क प्रवेश को सुविधा पनि उपलब्ध गराइने भएको छ।
यसै क्रममा अध्यक्ष भट्टराईले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्दै नाडा अटो प्रदर्शनी २०२५ अवलोकनमा सहभागी हुन अनुरोध गरेका छन्।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी वक्तव्यमा प्रदर्शनीको सफलताका लागि मिडिया, पाटी–पर्खालका सूचना पाटी, व्यापारिक क्षेत्र तथा सामाजिक सञ्जालमार्फत व्यापक प्रचार–प्रसार गर्न प्रदेशीय संघहरूलाई अनुरोध गरिएको छ।नाडा अटो प्रदर्शनी २०२५ लाई नेपालको सवारीसाधन क्षेत्रमा राष्ट्रिय पहिचान दिलाउने महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ।








1 Comment
म पनि जाने हाे मेराे पनि पास बनाई दिनुहाेला कमल सर