साउन २८ काठमाण्डौ –
नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागले ‘रूपान्तरणका लागि पठन संस्कृति : अध्ययन र अनुभूति’ शृङ्खला अन्तर्गत आगामी कार्यक्रम साउन ३१ गते आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले ‘सेल्टर’ पुस्तकबारे आफ्ना अनुभूति प्रस्तुत गर्ने छन्।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अपराह्न २ बजे हुने कार्यक्रममा भूमिगत कालका रोचक तथा कहालीलाग्दा अनुभवहरू प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रमको सहजीकरण केन्द्रीय पार्टी स्कुल विभागका सदस्य वाइपी आचार्यले गर्नेछन्। प्रस्तुतिपछि सहभागीहरूसँग प्रश्नोत्तर तथा सुझाव आदानप्रदानको समेत व्यवस्था रहनेछ।
पञ्चायती कालमा नेताहरूले भोगेका भूमिगत जीवनका घटनाहरू समेटिएको ‘सेल्टर’ पुस्तकमा ३४ जना नेताहरूका अनुभव संकलन गरिएका छन्। नेकपा (एमाले) केन्द्रीय कार्यालयले प्रकाशन गरेको पुस्तकको सम्पादन पार्टी उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गरेका हुन्।
‘सेल्टर’ पुस्तकले पुरानो पुस्ताको सम्मान गर्दै नयाँ पुस्तालाई ज्ञान दिने लक्ष्य राखेको छ। कार्यक्रममार्फत युवा पुस्तालाई रूपान्तरणको महाअभियानमा जोड्ने उद्देश्य राखिएको केन्द्रीय पार्टी स्कुल विभागका सचिव घनश्याम कोइरालाले जानकारी दिएका छन्।







