१८ भदौ,काठमाण्डौ – सामाजिक सञ्जाल सूचीकरणको अन्तिम समय आज
सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि जारी गरेको सात दिने समयसीमा आज (भदौ १९) सकिँदैछ। सूचना अनुसार, नेपालमा सञ्चालन भइरहेका वा नेपालमा सञ्चालन सुरु गर्न लागेका सबै सामाजिक सञ्जालले आज राति १२ बजेसम्म सूचीकरणका लागि सम्पर्क गर्नुपर्ने छ।
तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार आज दिउँसो पौने ५ बजेसम्म कुनै पनि सामाजिक सञ्जालले सम्पर्क गरेका छैनन्। मन्त्रालयले स्पष्ट पार्दै भन्यो कि सूचीकरणका लागि आज राति १२ बजेभन्दा अघि सम्पर्क गरेमा कारबाही अघि बढाइने छैन, तर सम्पर्क नगरेका सञ्जाल बन्द गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यसअघि नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो, तर कम्पनीले सूचीकरण प्रक्रिया पूरा गरेपछि पुनः सञ्चालनमा आएको थियो। केही समयअघि टेलिग्राम निष्क्रिय गरिएको थियो। अहिले मेटा कम्पनीका फेसबुक र इन्स्टाग्राम तथा ट्विटर (‘एक्स’) को सूचीकरण विषयमा बढी चासो रहेको छ।
सरकारको चेतावनीका बावजुद मेटा कम्पनीले नेपालमा कन्टेन्ट मनिटाइजेसन कार्यक्रम आधिकारिक रूपमा सञ्चालनमा ल्याएको छ। आईटी विशेषज्ञहरूका अनुसार, कम्पनीले प्रयोगकर्तालाई पैसा कमाउने सुविधा दिँदै सरकारप्रति अप्रत्यक्ष दबाव सिर्जना गरेको देखिन्छ।






