३ भदौ, बुटवल – करिब तीन वर्ष लामो बर्दियाको बसाइपछि ट्राफिक प्रहरी देबेन्द्र बहादुर साउद अब प्रदेश ट्राफिक कार्यालय बुटवलमा कार्यरत हुने भएका छन्।

बर्दियामा सेवाकालका क्रममा उनले गेरुवा, मधुबन र राजापुर क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकता दिए। उनका अनुसार करिब ६५ सामुदायिक तथा निजी विद्यालयका करिब २० हजार विद्यार्थीलाई ट्राफिक नियमबारे जनचेतना दिलाउन सफल भएका थिए। त्यस्तै, पैदल यात्रीदेखि ट्रक, बस, अटो, टिपर, ट्रयाक्टर र साइकल यात्रीसम्मलाई लक्षित गरी दर्जनौँ कार्यक्रम सम्पन्न गरिएको उनले बताए।उनले बर्दियामा महत्वपूर्ण योगदानका रूपमा जिल्लाकै पहिलो तीन कोठे ट्राफिक कार्यालय भवन निर्माण गरेका थिए।
करिब ४ लाख ५० हजार रुपैयाँ लागतमा बनेको उक्त भवन निर्माणमा राजापुर नगरपालिकाको एक लाख सहयोगसहित स्थानीय बुद्धिजीवी, व्यापारी तथा निर्माण व्यवसायीहरूको सहयोग रहेको थियो। भवन निर्माणमा सुझाव र मार्गनिर्देशन प्रदान गर्नेमा तत्कालीन डीएसपी सागर बोहराको भूमिका उल्लेखनीय रहेको साउदले स्मरण गरेका छन्।उनको योगदानको उच्च मूल्यांकन गर्दै नाडा एसोसिएसन बार बुटवलले नगद पाँच हजारसहित सम्मानपत्रले कदर गरेको थियो। त्यस्तै, बर्दिया जिल्ला प्रहरी कार्यालय प्रमुख, इप्रका पाताभार र प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट समेत सम्मान पाएका थिए।
आफ्नो जन्मथलो कैलाली, टिकापुर–६ नारायणपुर जेसिसले पनि उनको कामको कदर गर्दै खादा र सम्मानपत्र प्रदान गरेको थियो।साउदले बर्दियामा काम गर्दा साथ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै भनेका छन्, “बर्दिया बासीको माया भएमा फेरि आउने बाचा गर्दछु।”






