प्रवासमा खटिएका सयौं नेता–कार्यकर्ताका लागि कमरेड घनश्याम कोइराला कुनै साधारण नाम होइन। उहाँ हाम्रो राजनीतिक यात्राको प्रेरणा, वैचारिक अभिभावक र संगठनात्मक अनुशासनको उदाहरण हुनुहुन्छ। राजनीतिक सिद्धान्त, संगठन व्यवस्थापन र कार्यकर्तासँगको आत्मीय सम्बन्धका हिसाबले उहाँलाई नजिकबाट चिन्नेहरूका लागि उहाँबारे धेरै व्याख्या आवश्यक पर्दैन।
जीवनको लामो समय सामाजिक परिवर्तन र रूपान्तरणको आन्दोलनमा समर्पित भएर निरन्तर होमिनुभएका कमरेड कोइरालाले सधैं पार्टी कामको व्यवस्थापन, कार्यदिशा र वैचारिक स्पष्टताका विषयमा चिन्ता र चासो व्यक्त गर्दै आउनुभएको छ। तर यति लामो योगदान, योग्यता र अनुभव हुँदाहुँदै पनि पार्टीले उहाँलाई आवश्यक भूमिकामा समुचित व्यवस्थापन गर्न नसकेको अनुभूति धेरैको साझा ठम्याइ बनेको छ।
पाल्पाको सामान्य परिवारमा जन्मिनुभएका घनश्याम कोइराला सानै उमेरमा संस्कृत अध्ययनका लागि भारतको हरिद्वार पुग्नुभयो। त्यहीँ अध्ययनकै क्रममा उहाँ संगठित राजनीतिमा प्रवेश गर्नुभयो। तत्कालीन नेकपा (माले) निकट विद्यार्थी संगठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको गठन, विस्तार र नेतृत्व तहमा रही उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
प्रवासी नेपाली आन्दोलनमा उहाँको योगदान विशेष उल्लेखनीय छ। अखिल भारत प्रवासी नेपाली संघको केन्द्रीय सचिवालय सदस्य हुँदै आन्दोलनलाई एकीकृत गर्ने समन्वय समितिमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। भारतबाट प्रकाशित हुने पार्टी पत्रिका ‘सीमानापारि’, ‘युगपुकार’, ‘प्रवासी नेपाली आवाज’, ‘चासो’ जस्ता प्रकाशनहरूको सम्पादन गर्दै वैचारिक मोर्चालाई सशक्त बनाउनुभयो। प्रवासी नेपाली संघ, भारतको दुई कार्यकाल (करिब ११ वर्ष) महासचिवका रूपमा संगठनलाई विस्तार र व्यवस्थित गर्न उहाँ सफल हुनुभयो।
तत्कालीन नेकपा (एमाले)को अञ्चल कमिटी सरहको भारत प्रवास समन्वय कमिटीमा सदस्य, सचिवालय सदस्य र सचिवका रूपमा काम गर्दै उहाँले संगठनलाई बलियो बनाउने आधार तयार गर्नुभयो। यस अवधिमा कुनै जागिर वा पेशामा संलग्न नभई पूर्णकालीन रूपमा पार्टीमै समर्पित रहनु उहाँको त्यागको स्पष्ट उदाहरण हो।
२०५९ सालमा नेपाल फर्किएपछि नवलपरासी जिल्ला कमिटी सदस्य, उपसचिव, संगठन विभाग प्रमुख हुँदै पार्टी कामलाई निरन्तरता दिनुभयो। २०६५ सालदेखि पुनः पार्टीको राष्ट्रिय परिषद सदस्यका रूपमा निर्वाचित भई लुम्बिनी अञ्चल कमिटी, अञ्चल पार्टी स्कुल विभाग उपप्रमुख, मानव अधिकार एलायन्सका विभिन्न जिम्मेवारीमा रही काम गर्नुभयो।
२०६८ पछि पार्टी एकीकरण भई नेकपा बनेसम्म केन्द्रीय स्कुल विभागमा रही वैचारिक प्रशिक्षण र कार्यकर्ता निर्माणमा उहाँको योगदान निरन्तर रह्यो। हाल उहाँ पार्टीको केन्द्रीय स्कुल विभाग सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। प्राप्त जिम्मेवारी सम्पादनमा उहाँ सधैं अब्बल देखिनुभएको छ।
पार्टीको पाँचौं, छैठौं र आठौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि रहनु भएका उहाँ अहिले एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुनुहुन्छ। यति लामो अनुभव, परिणाममुखी कार्यशैली र वैचारिक स्पष्टता हुँदाहुँदै पनि “पार्टीलाई मिलाएर अघि बढाउनुपर्छ” भन्ने मान्यताका आधारमा केन्द्रीय कमिटी सदस्यसम्म नबन्नु वा नचाहनु उहाँको पार्टीप्रतिको त्याग र निस्वार्थताको स्पष्ट उदाहरण हो।
पूर्वीय दर्शन, धर्म–संस्कृति, योजना, विकास अवधारणा र सुशासन उहाँका रुचिका विषय हुन्। पार्टी इतिहास, प्रशिक्षण, साहित्य र संस्कृतिसँग सम्बन्धित उहाँका दर्जनौं कृति प्रकाशित छन्। ‘आस्था र संस्कृति’, ‘आँसुको भल’, ‘श्रद्धाञ्जलि’, ‘सामाजिक सचेतना तथा नेतृत्व विकास’, ‘बन्छ नेपाल’, ‘कोलकातादेखि बुटवलसम्म’, ‘श्यामबजारदेखि सौराहासम्म’ जस्ता कृतिहरूले उहाँको बौद्धिक उचाइ प्रस्ट देखाउँछन्। पत्रपत्रिकामा सामाजिक, सांस्कृतिक र अधिकारका विषयमा नियमित लेखन उहाँको अर्को परिचय हो।
देशका ६६ जिल्ला भ्रमण, हिमाल–पहाड–तराईको प्रत्यक्ष अनुभव, विभिन्न समुदाय, भाषा र संस्कृतिबारेको बुझाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण, योग र ध्यानको अभ्यास, संस्थागत व्यवस्थापनको अनुभव, करिब चार दशकको संगठित जीवन। यी सबैले घनश्याम कोइरालालाई केवल नेता होइन, विचार, विधि, विश्वास र विवेकको प्रतिनिधि बनाएका छन्।
उहाँ स्वयं भन्नुहुन्छ, “इमान्दार माग्दैन, बेइमान दिन्न।” पद, प्रतिष्ठा र लाभभन्दा टाढा बसेर पार्टी, राष्ट्र र जनताको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता उहाँको जीवनशैली हो।
आज, यस्ता व्यक्तित्वलाई पार्टीले कसरी उपयोग गर्छ, कस्तो जिम्मेवारी दिन्छ भन्ने प्रश्न केवल व्यक्तिको होइन, संगठनको दूरदृष्टिको परीक्षा पनि हो। कमरेड घनश्याम कोइरालाको यात्रा त्याग, धैर्य र विचारको यात्रा हो। उहाँको योगदानलाई सही स्थानमा राख्नु पार्टीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो।






